नियम २६
प्रस्ताव मूल्याङ्कन तथा छनौट
(१) नियम २४ बमोजिम सम्बन्धित निकायमा पेश भएका प्रस्तावको मूल्याङ्कन नियम ३० बमोजिमको मूल्याङ्कन समितिले गर्नेछ ।
(२) मूल्याङ्कन समितिले सम्बन्धित निकायले कुनै परियोजनाको लागि प्रस्ताव मूल्याङ्गनको विधि, शर्त तथा तरिका निर्धारण गरेको भए सोही आधारमा मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्नु पर्नेछ।
(३) मूल्याङ्कन समितिले यस नियम बमोजिम प्रस्ताव मूल्याङ्कन गर्दा पहिला प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्नु पर्नेछ ।
(४) मूल्याङ्कन समितिले ऐनको दफा २७ को उपदफा (१) मा उल्लिखित आधारका अतिरिक्त देहायका आधारमा प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्नु पर्नेछः-
(क) प्रस्तावकको प्राविधिक क्षमता तथा अनुभव,
(ख) प्रस्तावित जनशक्तिको कार्यक्षमता तथा अनुभव,
(ग) परियोजना कार्यान्वयन सम्बन्धी सङ्गठनात्मक व्यवस्था, प्रक्रिया तथा कार्यतालिका,
(घ) प्रस्तावकको आर्थिक हैसियत,
(ङ) परियोजनाको आधारभूत इन्जिनियरिङ्ग डिजाइन,
(च) परियोजनाको कार्यान्वयनबाट वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न अपनाउने उपाय,
(छ) परियोजनाको आर्थिक सामाजिक दायित्व,
(ज) परियोजनालाई बढी सम्भाव्य बनाउन पेश गरिएका अन्य आवश्यक कुरा ।
(५) यस नियम बमोजिम प्राविधिक प्रस्ताव छनौट हुन कम्तीमा साठी प्रतिशत अङ्क प्राप्त गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम साठी प्रतिशत अङ्क प्राप्त नगर्ने प्रस्तावकको मूल्याङ्कन समितिले छुट्टै सूची तयार गरी प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।
(७) मूल्याङ्कन समितिले मूल्याङ्कन कार्य सुरु गरेको मितिले नब्बे दिनभित्र प्राविधिक प्रस्ताव छनौट सम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(८)-उपनियम (७) बमोजिम पेश भएको प्रतिवेदन समेतको आधारमा सम्बन्धित निकायले प्राविधिक प्रस्ताव छनौट तथा स्वीकृत गर्नेछ ।
(९) उपनियम (८) बमोजिम प्राविधिक प्रस्ताव छनौट गरिएका प्रस्तावकलाई सम्बन्धित निकायले सात दिन भित्र आर्थिक प्रस्ताव खोल्ने सूचनासहित जानकारी पठाउनु पर्नेछ ।
(१०) कुनै प्रस्तावकको प्राविधिक प्रस्ताव स्वीकृत नभएमा सम्बन्धित निकायले त्यस्तो प्रस्तावकलाई सोको जानकारी सहित निजले पेश गरेको आर्थिक प्रस्ताव फिर्ता दिनु पर्नेछ ।
(११) उपनियम (९) बमोजिम पठाइएको सूचनामा तोकिएको मिति, समय र स्थानमा मूल्याङ्कन समितिले आर्थिक प्रस्ताव खोली देहायको आधारमा मूल्याङ्कन गर्नेछ:- (क) परियोजनाको लागत,
(ख) परियोजना कार्यान्वयन गर्दा उपभोक्तासँग लिने प्रस्तावित शुल्क,
(ग) रोयल्टी वा राजश्व तथा सो भुक्तानी गर्ने समय र तरिका,
(घ) सम्झौताको प्रस्तावित अवधि,
(ङ) नेपाल सरकारबाट अपेक्षित सुविधा तथा सहुलियत वा नेपाल सरकारलाई उपलब्ध गराउन प्रस्ताव गरिएका आर्थिक फाइदा,
(च) अन्य आवश्यक कुरा ।
(१२) उपनियम (११) बमोजिम मूल्याङ्कन समितिले मूल्याङ्कन गरी तयार गरेको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ ।
(१३) उपनियम (१२) बमोजिम पेश गरिएको प्रतिवेदन समेतको आधारमा सम्बन्धित निकायले आर्थिक प्रस्ताव स्वीकृत गर्नेछ ।
(१४) उपनियम (१३) बमोजिम स्वीकृत भएको प्रस्तावको प्रस्तावकलाई सम्बन्धित निकायले सात दिनभित्र सोको जानकारी दिनु पर्नेछ।
(१५) यस नियममा -अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै परियोजनाको सम्बन्धमा प्रस्ताव मूल्याङ्कन गर्दा प्रस्ताव आह्वान सम्बन्धी कागजातमा तोकिएको विधि, शर्त तथा तरिका बमोजिम मूल्याङ्कन गर्न सकिनेछ।
(१६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संक्षिप्त सूचीमा परेका प्रस्तावको प्राविधिक वा आर्थिक पक्षको मात्र प्रतिस्पर्धा गराई मूल्याङ्कन गर्न सकिनेछ ।
(१७) कुनै कारणवश प्रस्ताव आव्हान सम्बन्धी सूचना रद्द भएमा पेश हुन आएका प्रस्ताव सम्बन्धित प्रस्तावकलाई फिर्ता दिनु पर्नेछ ।
(१८) उपनियम (१०) वा (१७) बमोजिम प्रस्ताव फिर्ता लिन आउने सूचना सम्बन्धित प्रस्तावकलाई दिइनेछ र त्यस्तो सूचना पाएको पन्ध्र दिन भित्र प्रस्तावकले प्रस्ताव फिर्ता लिन सक्नेछ ।
(१९) उपनियम (१८) बमोजिमको म्यादभित्र कुनै प्रस्तावक आफूले पेश गरेको प्रस्ताव फिर्ता लिन नआएमा सम्बन्धित निकायले सोही व्यहोरा जनाई त्यस्तो प्रस्ताव नखोली नष्ट गर्न सक्नेछ ।